नेपाली भाषा Nepali Language

प्रत्येक समाजको परिचय उसको संस्कृतिले दिन्छ र संसारमा कुन संस्कृति कति धनी छ भन्ने कुरा त्यसको भाषा र साहित्यले दर्शाउँछ । नेपाली संस्कृति पनि विश्वका समृद्ध संस्कृतिमध्ये एक हो किनकि नेपाली भाषा र साहित्य पनि त्यत्तिकै समृद्ध छन् अनि विश्व साहित्यसँग तुलना गर्न योग्य छन्।

 

नेपालीभाषी समाज आज विश्वका लगभग सबै कुनामा पुगेको छ। नेपालीभाषी भुटानी समाज पुनर्वासको क्रममा विभिन्न मुलुकमा छरिएपछि त यसको संख्या अझ बढेको छ। त्यसैले नेपाल बाहिर बस्ने धेरैजसो नेपाली बालबालिकाहरूलाई अब नेपाली भाषा एकातिर दोस्रो भाषाका रूपमा पढाउनु पर्ने परिस्थिति छ भने अर्कातिर भाषा शिक्षणलाई रोचक अनि प्रभावकारी बनाई बालबालिकाहरूमा रुचि जगाउन आधुनिक भाषा शिक्षण पद्धतिलाई अपनाउनु पनि नितान्त जरुरी छ । आज हामी हाम्रा सन्ततिलाई हाम्रो भाषा र संस्कृति हस्तान्तरण गर्न असमर्थ भइरहेका छौं र यसको एउटा प्रमुख कारण विज्ञान र प्रविधिका दृष्टिले चरम विकसित यी मुलुकहरुमा शिक्षण प्रविधिलाई युगानुकुल बनाएर लान नसक्नु पनि हो।

 

आज जनजीवन व्यस्त मात्र होइन अति व्यस्त छ। केहि नगन्य स्थानहरूमा भाषाकक्षाहरू सुचारु भएका भएता पनि धेरैजसो अभिभावकहरू चाहँदा चाहँदै पनि आफ्ना नानीहरूलाई त्यस्ता भाषाकक्षाहरूमा लान असमर्थ छन्। त्यसैले ‘हाम्रो पाठशाला’को नेपाली विभागले नेपाल बाहिर बस्ने नेपाली समाजको आवश्यकतालाई ध्यानमा राखेर देश, काल र परिस्थितिअनुरूपको पाठ्यपुस्तक एवं  पाठ्यसामग्रीको निर्माण अनि शिक्षण गर्ने उद्देश्य लिएको छ। यसैअनुरूप ‘हाम्रो नेपाली भाषा’ नेपाली पाठ्य पुस्तकको शृंखलाको लेखन तथा प्रकाशन गर्ने क्रममा भाग १ र २ प्रकाशित भैसकेका छन्।

 

हाम्रो नेपाली भाषा  (यहाँ क्लिक गर्नुहोस्)