FAQs

प्रश्न – हाम्रो पाठशालाका उद्देश्य केके छन् ?

उत्तर – हाम्रो पाठशालाले विश्वभरि छरिएर बसेका वैदिक संस्कृतिका अनुयायी बाल-वृद्ध-युवा-सबैसबैका लागि भाषा, साहित्य, संस्कृति तथा वैदिक सनातन धर्मको आवश्यक एवं वैज्ञानिक ज्ञान प्रदान गर्ने उद्देश्य लिएको छ। “असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय” यस पाठशालाका पथ-प्रदर्शक महावाक्यहरू हुन् ।

प्रश्न – के हाम्रो पाठशाला धार्मिक संस्था हो ?

उत्तर – यो ब्रह्माण्ड धर्ममा अडेको छ। यस चराचर जगतका एकएक अणुले स्वधर्मको पालना गरेका छन्। यस अर्थमा भने अवश्य यो एउटा धार्मिक संस्था हो। तर यहाँ ‘धार्मिक’ भन्नाले त्यस्तो धार्मिक संस्था होइन जुन हामीमध्ये धेरैजसोको बुझाइमा छ। समग्रमा हाम्रो पाठशाला एउटा अध्ययन केन्द्र हो, वैदिक अध्ययन तथा अनुसन्धान केन्द्र।

प्रश्न – के हाम्रो पाठशाला गैर लाभकारी संस्था (nonprofit organization) हो ?

उत्तर – होइन।  हाम्रो पाठशाला एउटा व्यक्तिगत संस्था हो।

प्रश्न – हाम्रो पाठशालामा केके पढ्न पाइन्छ ?

उत्तर – हाम्रो पाठशालामा यहाँले वैदिक धर्म, दर्शन, संस्कार, संस्कृति सम्बन्धित विस्तृत क्षेत्रमा अध्ययन-अनुसन्धान गर्न सक्नुहुन्छ । यद्यपि हालमा निम्न विभागहरू मात्र संचालनमा छन् । तर भविष्यमा भाषा, साहित्य, संस्कृति, धर्म, अध्यात्म-विज्ञान, योग, ध्यान, आयुर्वेद, जीवन-दर्शन, नैतिक शिक्षा, अर्थशास्त्र, आदि विभिन्न विषयसँग सम्बन्धित अन्य विभागहरू पनि क्रमशः संचालनमा ल्याउने योजना छ।

प्रश्न – हाम्रो पाठशालामा प्रत्यक्ष अनलाइन कक्षाहरू (Direct online classes) पनि हुन्छन् ?

उत्तर – वर्तमानमा छैनन् तर भविष्यमा प्रत्यक्ष कक्षाहरू पनि संचालन गर्ने योजना छ।

प्रश्न – के हाम्रो पाठशालामा पढ्न शुल्क तिर्नुपर्छ ? 

उत्तर – पर्दैन, यहाँ तपाईं निःशुल्क पढ्नसक्नुहुन्छ। तर यदि तपाईं ‘हाम्रो नेपाली भाषा’ नेपाली पाठ्यपुस्तक मगाउन चाहनुहुन्छ भने त्यसको मूल्य चाहिँ अवश्य लाग्नेछ।

प्रश्न – म हाम्रो पाठशालामा कसरी सहभागी बन्नसक्छु ?

उत्तर – हाम्रो पाठशालामा तपाईं निम्न प्रकारले सहभागी बन्नसक्नुहुन्छ–

१) हप्ताको १ देखि २ घण्टा आफ्ना नानी-बाबुहरूसँग हाम्रो पाठशालामा बिताएर, आफ्नो भाषा, धर्म र संकृति सिकाएर।

२) हाम्रो पाठशालाले कस्तो काम गर्दैछ ? यसलाई अझ सरल, सर्वसुलभ, आकर्षक अनि समसामयिक कसरी बनाउन सकिन्छ ? तपाईंका अमूल्य सल्लाह/सुझाव दिएर।

३) आफ्ना साथी-भाइ, छरछिमेकी तथा इष्ट-मित्रहरूलाई पनि हाम्रो पाठशालाको बारेमा खबर दिएर।

४) हाम्रो पाठशालाको YouTube Channel लाई Subscribe, Like and Share गरेर ।

५) हाम्रो पसल (Hamro Pasal-Our Store) लाई प्रोत्साहन दिएर ।