श्रीमद्भगवद्गीता
अथ प्रथमोऽध्यायः
दोषैरेतैः कुलघ्नानां वर्णसङ्करकारकैः ।
उत्साद्यन्ते जातिधर्माः कुलधर्माश्च शाश्वताः ।।४३।।
शब्दार्थ— दोषैः – दोषहरूले, एतैः – यी, कुलघ्नानाम् – कुलघातीहरूको, वर्णसङ्करकारकैः – वर्णसंकर उत्पन्न गर्ने, उत्साद्यन्ते – नष्ट हुन्छन्, जातिधर्माः – जातिधर्म, कुलधर्माः – कुलधर्म, च – पनि, शास्वताः – सनातन ।
अन्वय— कुलघ्नानां एतैः वर्णसङ्करकारकैः दोषैः शास्वताः कुलधर्माः जातिधर्माः च उत्साद्यन्ते ।
भावार्थ— त्यस्ता कुलघातीहरूका यस्ता वर्णसंकर दोषहरूका कारण शास्वत कुलधर्म र जातिधर्म दुबै नष्ट हुन्छन् ।
उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन ।
नरकेऽनियतं वासो भवतीत्यनुशुश्रुम ।।४४।।
शब्दार्थ— उत्सन्नकुलधर्माणाम् – आफ्नो कुलधर्म नष्ट भएका, मनुष्याणाम् – मनुष्यहरूको, जनार्दन – हे जनार्दन, नरके – नरकमा, अनियतम् – लामो समयसम्म, वासः – वास, भवति – हुन्छ, इति – यस्तो, अनुशुश्रुम – सुन्दै आएका छौँ ।
अन्वय— हे जनार्दन ! उत्सन्नकुलधर्माणां मनुष्याणां नरके अनियतं वासः भवति इति अनुशुश्रुम ।
भावार्थ— हे जनार्दन ! आफ्नो कुलधर्म नष्ट भएका मनुष्यहरूको लामो समयसम्म नरकमा वास हुन्छ भन्ने कुरो हामी सुन्दै आएका पनि छौँ ।
अहो बत महत्पापं कर्तुं व्यवसिता वयम् ।
यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यताः ।।४५।।
शब्दार्थ— अहो – आश्चर्य, बत – दुःखको, महत्पापम् – ठूलो पाप, कर्तुम् – गर्न, व्यवसिताः – तत्पर, वयम् – हामी, यत् – जुन, राज्यसुखलोभेन – राज्य तथा सुखको लोभले, हन्तुम् – मार्न, स्वजनम् – आफ्नै बन्धुबान्धव, उद्यताः – तत्पर भएका छौँ ।
अन्वय— अहो ! बत, महत्पापं कर्तुं वयं व्यवसिताः यत् राज्यसुखलोभेन स्वजनं हन्तुम् उद्यताः (स्मः) ।
भावार्थ— बडो दुःखको कुरो हो कि हामी राज्य तथा सुखको लोभको कारणले आफ्नै बन्धुबान्धवलाई मार्ने जस्तो ठूलो पाप गर्न तत्पर भइरहेका छौँ !
यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणयः ।
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत् ।।४६।।
शब्दार्थ— यदि – यदि, माम् – मलाई, अप्रतीकारम् – प्रतिकार नगर्ने, अशस्त्रम् – शस्त्ररहित, शस्त्रपाणयः – शस्त्रअस्त्र धारण गरेका, धार्तराष्ट्राः – कौरवहरू र तिनका पक्षपाती, रणे – युद्धमा, हन्युः – मारे पनि, तत्– त्यो (मृत्यु) क्षेमतरम् – कल्याणकारी, भवेत् – हुनेछ ।
अन्वय— यदि शस्त्रपाणयः धार्तराष्ट्राः अशस्त्रम् अप्रतीकारम् माम् रणे हन्युः तत् क्षेमतरम् भवेत् ।
भावार्थ— यदि शस्त्रधारी कौरव तथा तिनका सहयोगीहरूले मलाई शस्त्रहीन तथा अप्रतिकारी देखेर मारिदिए भने पनि म त्यो मृत्युलाई यो आफन्तलाई मारेर पाएको विजयभन्दा कल्याणकारी मान्नेछु ।
सञ्जय उवाच
एवमुक्त्वार्जुनः सङ्ख्ये रथोपस्थ उपाविशत् ।
विसृज्य सशरं चापं शोकसंविग्नमानसः ।।४७।।
शब्दार्थ— सञ्जयः – संजयले, उवाच – भने, एवम् – यस्तो, उक्त्वा – भनेर, अर्जुनः – अर्जुन, सङ्ख्ये – युद्धभूमिमा, रथोपस्थे – रथका बीचमा, उपाविशत् – बसे , विसृज्य – फ्याँकेर, सशरम् – बाँण सहित, चापम् – धनु, शोकसंविग्नमानसः – शोकले उद्विग्न मन भएका ।
अन्वय— सञ्जयः उवाच— एवम् उक्त्वा शोकसंविग्नमानसः अर्जुनः सशरं चापं विसृज्य सङ्ख्ये रथोपस्थ उपाविशत् ।
भावार्थ— संजयले भने– यसो भने पछि शोकले विचलित मन भएका अर्जुन त्यस युद्धभूमिमा बाँण सहित अफ्नो धनु फ्याँकेर रथका बिचमा बसे ।