श्रीमद्भगवद्गीता
अथ प्रथमोऽध्यायः
तत्रापश्यत्स्थितान् पार्थः पितृृनथ पितामहान् ।
आचार्यान्मातुलान्भ्रातृन्पुत्रान्पौत्रान्सखींस्तथा ।।२६।।
शब्दार्थ— तत्र – त्यहाँ, अपश्यत् – हेरे, स्थितान् – उपस्थित, पार्थः – अर्जुनले, पितृृन् – पिताहरूलाई, अथ – त्यसपछि, पितामहान् – हजुर बुबाहरूलाई, आचाार्यान् – गुरुहरूलाई, मातुलान् – मामाहरूलाई, भ्रातृन् – दाजुभाइहरूलाई, पुत्रान् – छोराहरूलाई, पौत्रान् – नातिहरूलाई, सखीन् – साथीहरूलाई, तथा – त्यस्तै ।
अन्वय— अथ पार्थः तत्र स्थितान् पितृृन्, पितामहान्, आचार्यान्, मातुलान्, भ्रातृन्, पुत्रान्, पौत्रान्, सखीन् च अपश्यत् । तथा …
भावार्थ— त्यसपछि अर्जुनले त्यहाँ युद्धभूमिमा उपस्थित बुबा, हजुर बुबा, गुरु, मामा, दाजुभाइ, छोरा–नाति तथा साथीहरूलाई हेरे । यसरी नै ….
श्वशुरान् सुहृदश्चैव सेनयोरुभयोरपि ।
तान्समीक्ष्य स कौन्तेयः सर्वान्बन्धूनवस्थितान् ।।२७।।
कृपया परयाविष्टो विषीदन्निदमब्रवीत् ।
शब्दार्थ— श्वशुरान् – ससुराहरू, सुहृदः – मित्रहरू, च – र, एव – पनि, सेनयोः – सेनाहरूको, उभयोः – दुबैको, अपि – पनि, तान् – तिनीहरूलाई, समीक्ष्य – हेरेर, सः– त्यो, कौन्तेयः – कुन्तिपुत्र (अर्जुन), सर्वान् – सबैलाई, बन्धून् – सम्बन्धीहरूलाई, अवस्थितान् – उभिएकालाई, कृपया – कायरतापूर्वक, परया – अन्यन्त, आविष्टः – युक्त भएर, विषीदन् – दुःखी हुँदै, इदम् – यसो, अब्रवीत् – भने ।
अन्वय— सः कौन्तेयः उभयोः सेनयोः अपि अवस्थितान् तान् श्वशुरान्, सुहृदः सर्वान् बन्धून् च समीक्ष्य एव, परया कृपया आविष्टः विषीदन् इदं अब्रवीत् ।
भावार्थ— (यसरी नै) कुन्तीपुत्र अर्जुनले दुबै सेनामा रहेका आफ्ना ससुराहरू, मित्रहरू र ती सम्पूर्ण बन्धुबान्धवहरूलाई पनि त्यहाँ युद्धभूमिमा देखेर अत्यन्त दुःखी हुँदै यसो भने —
अर्जुन उवाच
दृष्ट्वेमं स्वजनं कृष्ण युयुत्सुं समुपस्थितम् ।।२८।।
सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति ।
वेपथुश्च शरीरे मे रोमहर्षश्च जायते ।।२९।।
गाण्डीवं स्रंसते हस्तात्त्वक्चैव परिदह्यते ।
न च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मनः ।३०।।
शब्दार्थ— अर्जुन – अर्जुनले, उवाच – भने, दृष्ट्वा – देखेर, इमम् – यी, स्वजनम् – आफन्तहरूलाई, कृष्ण – हे कृष्ण, युयुत्सुम् – युद्ध गर्न चाहनेलाई, समुपस्थितम् – उपस्थितलाई, सीदन्ति – लल्याकलुलुक हुँदैछन्, मम – मेरा, गात्राणि – अंगहरू, मुखं – मुख, च – पनि, परिशुष्यति – सुकिरहेको छ । वेपथुः – कामिरहेको छ, च – पनि, शरीरे – शरीरमा, मे – मेरो, रोमहर्षः – रोमहर्ष, च – पनि, जायते – भइरहेका छन् । गाण्डीवम् – गाण्डीव धनु, स्रंसते – खसिरहेको छ, हस्तात् – हातबाट, त्वक् – छाला, च – र, एव – पनि, परिदह्यते – जलिरहेको छ । न – न, च – पनि, शक्नोमि – सक्दछु, अवस्थातुम् – उभिन, भ्रमति – घुमिरहेको, इव – जस्तै, च – पनि, मे – मेरो, मनः – मन ।
अन्वय— अर्जुनः उवाच— हे कृष्ण ! युयुत्सुं इमं स्वजनं समुपस्थितं दृष्ट्वा मम गात्राणि सीदन्ति, मे मुखं च परिशुष्यति, शरीरे वेपथुः च, रोमहर्षः च जायते । (एवमेव) गाण्डीवम् हस्तात् स्रंसते, त्वक् च परिदह्यते एव । अवस्थातुम् च न शक्नोमि, मे मनः च भ्रमति इव ।
भावार्थ— अर्जुनले भने— हे कृष्ण, युद्ध गर्नका लागि उपस्थित भएका यी सम्पूर्ण आफन्तहरूलाई देखेर मेरा हातगोडा लल्याकलुलुक हुँदैछन्, मुख पनि सुकिरहेको छ, मेरो शरीर लगलगी कामिरहेको छ अनि सम्पूर्ण शरीरमा रोमहर्ष (भुत्ला ठाडा) भइरहेको छ । यसरी नै मेरो प्यारो गाण्डीव धनु पनि हातबाट खसिरहेको छ अनि मेरो छाला पनि जलिरहेको छ । साँच्चै भन्ने हो भने म उभिनै नसक्ने भएको छु, र मेरो मन पनि बेतावसँग दौडिरहेको छ (म एकाग्र भएर युद्ध गर्नै सक्दिनँ !) ।