हाम्रो नेपाली भाषा

‘हाम्रो नेपाली भाषा’ पाठ्यपुस्तक भाषा शिक्षणका अत्याधुनिक सिद्धान्तमा आधारित, सम्प्रेषणात्मक, अनि विद्यार्थीकेन्द्रित रहेको छ । यस पुस्तकमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता भाषाका सम्पूर्ण शीपको विकासलाई ध्यानमा राखिएको छ । यो पाठ्यपुस्तक अत्यन्त सरल अनि रोचक शैलीमा लेखिएको छ । यस पुस्तकमा रहेका आकर्षक रङ्गीन चित्र, विभिन्न शीपमूलक तर सरल अभ्यास र क्रियाकलापहरूले पनि विद्यार्थीको रुचि जगाउन पर्याप्त सहयोग गरेका छन् । यस पुस्तकमा भाषा र व्याकरणलाई सँगगसँगै लगिएको छ तर व्याकरणको सैद्धान्तिक पक्षलाईभन्दा व्यवहारिक पक्षलाई बढी जोड दिइएको छ । अझ स्पष्टसँग भन्नुपर्दा यस पाठ्यपुस्तकमा व्याकरणका नियम वा परिभाषा सिकाउनुभन्दा त्यसको व्यवहारिक प्रयोग गराउने प्रयास गरिएको छ । यस पाठ्यपुस्तकमा रहेका प्रत्येक अभ्यासहरू प्रयोगात्मक छन् । त्यसैले यसमा रहेका प्रत्येक अभ्यासको विशेष महत्व छ र ती अभ्यासहरू ‘भरेर’ होइन ‘बुझेर’ अघि बढ्नु अत्यन्त जरुरी हुन्छ । परिशिष्टमा राखिएका शब्दभण्डार, व्याकरणका आवश्यक नियमहरू, आदर्श प्रश्नपत्र (वार्षिक मूल्याङ्कन पत्र) जस्ता विभिन्न विषयवस्तु पनि यस पुस्तकका थप आकर्षण रहेका छन् ।

‘हाम्रो नेपाली भाषा’ पाठ्यपुस्तकको शृङ्खला अमेरिकालगायत विश्वका कतिपय मुलुकका पाठ्यक्रममा अपनाइने क्रेडिट सिस्टममा (Credit System) आधारित बनाएर लाने प्रयत्न गरिएको छ त्यसैले यस शृङ्खलाका सबै भागहरू पढिसक्दा निम्न माध्यमिक वा माध्यमिक तहमा निर्धारित क्रेडिट (Credit Hours – contact and outside work) पूरा हुनेछन् । तसर्थ यस शृङ्खलाले एकातिर संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य तथा विश्वका कतिपय मुलुकहरूमा, निम्न माध्यमिक वा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई ऐच्छिक अथवा अनिवार्य रूपमा राखिएको अन्तर्राष्ट्रिय भाषाको २–३ क्रेडिट प्राप्त गर्न सहयोग गर्नेेछ भने अर्कातिर विभिन्न ठाउँमा व्यक्तिगत वा संस्थागत रूपमा चलिरहेका भाषा कक्षाहरूको आवश्यकतालाई पनि पूरा गर्नेछ ।

हाम्रो नेपाली भाषा – भाग १                                               हाम्रो नेपाली भाषा – भाग २