अध्याय १ (श्लोक १९-२५)

श्रीमद्भगवद्गीता

अथ प्रथमोऽध्यायः

 

 

स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयत् ।
नभश्च पृथिवीं चैव तुमुलो व्यनुनादयन् ।।१९।।

 

शब्दार्थ— स – त्यस, घोषः – शब्दले, धार्तराष्ट्राणां – कौरवहरूका, हृदयानि – हृदयहरू, व्यदारयत् – विदीर्ण गर्यो, नभः – आकाश, च – र, पृथिवीम् – पृथिवीलाई, च – र, एव – पनि, तुमुलः – भयङ्कर, व्यनुनादयन् – थर्काउँर्दै ।

 

अन्वय— सः तुमुलः घोषः नभः पृथिवीं च एव व्यनुनादयन् धार्तराष्ट्राणां हृदयानि च व्यदारयत् ।

 

भावार्थ— पाण्डवहरूद्वारा बजाइएका ती शङ्खहरूको भयङ्कर ध्वनिले आकाश र पृथिवी दुवैलाई गुञ्जायमान पार्दै कौरवहरूका हृदय पनि छियाछिया पारिदियो ।

 

अथ व्यवस्थितान्दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः ।
प्रवृत्ते शस्त्रसम्पाते धनुरुद्यम्य पाण्डवः ।।२०।।
हृषीकेशं तदा वाक्यमिदमाह महीपते ।

 

 

शब्दार्थ—  अथ – जब, व्यवस्थितान् – व्यवस्थितरूपले, दृष्ट्वा – देखेर, धार्तराष्ट्रान् – कौरवहरूलाई, कपिध्वजः – कपिध्वज, प्रवृत्ते – तैयारी हुनै लागेको बेला, शस्त्रसम्पाते – शस्त्र चलाउने, धनुः – धनु, उद्यम्य – उठाएर, पाण्डवः – अर्जुनले, हृषीकेशम् – श्रीकृष्णलाई, तदा – त्यसपछि, वाक्यम् – वाक्य, इदम् – यो, आह– भने, महीपते – हे राजा !

 

अन्वय— महीपते ! अथ कपिध्वजः पाण्डवः शस्त्रसम्पाते प्रवृत्ते (सति) व्यवस्थितान् धार्तराष्ट्रान् दृष्ट्वा तदा धनुः उद्यम्य हृषीकेशं वाक्यम् इदम् आह ।

 

भावार्थ— हे महाराज धृतराष्ट्र, जब सबै योद्धाहरू शस्त्रअस्त्र चलाउनै लागेका थिए तब व्यवस्थितरूपमा उभिएका कौरवहरूलाई देखेर कपिध्वज (जसको रथको ध्वजामा हनुमान् विराजमान छन्) अर्जुनले आफ्नो गाण्डीव धनु उठाएर भगवान् श्रीकृष्णलाई यसो भने—

 

अर्जुन उवाच

सेनयोरुभयोर्मध्ये रथं स्थापय मेऽच्युत ।।२१।।

 

शब्दार्थ— अर्जुनः उवाच – अर्जुनले भने, सेनयोः – सेनाहरूको, उभयोः – दुबैको, मध्ये – बिचमा, रथम् – रथ, स्थापय – उभ्याउनुहोस्, मे – मेरो, अच्युत – हे अच्युत ।

 

अन्वय—  अर्जुनः उवाच— हे अच्युत ! उभयोः सेनयोः मध्ये मे रथं स्थापय ।

 

भावार्थ— अर्जुनले भने— हे अच्युत, मेरो रथ दुबै सेनाहरूको बिचमा लगेर उभ्याउनुहोस् ।

 

यावदेतान्निरीक्षेऽहं योद्धुकामानवस्थितान् ।
कैर्मया सह योद्धव्यमस्मिन्रणसमुद्यमे ।।२२।।

 

शब्दार्थ—  यावत् – जबसम्म, एतान् – यिनीहरूलाई, निरीक्षे – निरीक्षण गर्नेछु, अहम् – म, योद्धुकामान् – युद्धको लागि, अवस्थितान् – उभिएका, कै – कोको, मया – मैले, सह – सँग, योद्धव्यम् – युद्ध गर्नुपर्छ, अस्मिन् – यो, रणसमुद्यमे – रणभूमिमा ।

 

अन्वय—  यावत् अहं योद्धुकामान् अवस्थितान् एतान् निरीक्षे, अस्मिन् रणसमुद्यमे मया कैः सह योद्धव्यम् ।

 

भावार्थ—  जबसम्म म युद्धको लागि उभिएका यी कौरवहरूलाई निरीक्षण गर्नेछु; हेरूँ मैले यस रणभूमिमा कोको सँग युद्ध गर्नुपर्ने रहेछ ?

 

योत्स्यमानानवेक्षेऽहं य एतेऽत्र समागताः ।
धार्तराष्ट्रस्य दुर्बुद्धेर्युद्धे प्रियचिकीर्षवः ।।२३।।

 

शब्दार्थ—  योत्स्यमानान् – युद्ध गर्न चाहने, अवेक्षे – हर्नेछु, अहम् –म, ये – जो, एते – यी, अत्र – यहाँ, समागताः – आएका, धार्तराष्ट्रस्य – धृतराष्ट्रका, दुर्बुद्धेः – दुर्बुद्धिको, प्रियचिकीर्षवः – भलो चाहनेहरू ।

 

अन्वय—  अहम् दुर्बुद्धेः धार्तराष्ट्रस्य प्रियचिकीर्षवः ये अत्र समागताः एते योत्स्यमानान् अवेक्षे ।

 

भावार्थ—  दुष्ट दुर्योधनको भलो गर्ने उद्देश्यले युद्ध गर्नका लागि यहाँ आएका यी जोजो राजाहरू छन्; म तिनीहरूलाई हेर्न चाहन्छु ।

 

सञ्जय उवाच
एवमुक्तो हृषीकेषो गुडाकेशेन भारत ।
सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम् ।।२४।।
भीष्मद्रोणप्रमुखतः सर्वेषां च महीक्षिताम् ।
उवाच पार्थ पश्यैतान् समवेतान्कुरूनिति ।।२५।।

 

शब्दार्थ—  सञ्जयः उवाच – सञ्जयले भने, एवम् – यस्तो, उक्तः – भनिएका, हृषीकेषः– हृषीकेश, गुडाकेशेन – गुडाकेशले, भारत – भारत, सेनयोः – सेनाहरूको, उभयोः – दुबैको, मध्ये – बिचमा, स्थापयित्वा – उभ्याएर, रथोत्तमम् – उत्तम रथ । भीष्मद्रोणप्रमुखतः – भीष्म र द्रोण आदि प्रमुख, सर्वेषाम् – सबैका, च – पनि, महीक्षिताम् – राजाहरूका, उवाच – भन्नुभयो, पार्थ – हे अर्जुन, पश्य – हेर, एतान् – यिनीहरूलाई, समवेतान् – भेला भएकालाई, कुरून् – कौरवहरूलाई, इति – यस्तो ।

 

अन्वय—  सञ्जयः उवाच– हे भारत ! एवम् गुडाकेशेन उक्तः हृषीकेषः उभयोः सेनयोः मध्ये, भीष्म–द्रोण–प्रमुखतः सर्वेषां च महीक्षिताम् रथोत्तमम् स्थापयित्वा ‘हे पार्थ, एतान् समवेतान् कुरून् पश्य’ इति उवाच ।

 

सञ्जयले भने  हे भरतवंशी राजा धृतराष्ट्र ! अर्जुनले यसो भनेपछि हृषीकेश श्रीकृष्णले दुबै सेनाहरूको बिचमा, जहाँ भीष्मपितामह, गुरु  द्रोणाचार्य लगायत प्रमुख राजाहरू थिए, त्यो महान् रथ रोकेर यसो भन्नुभयोे— ‘हे अर्जुन ! यहाँ एकत्र भएका यी कौरवहरूलाई हेर ।’

 

 

श्लोक २६-३० (यहाँ क्लिक गर्नुहोस्)